दफा १३५
फैसला गर्ने अदालत वा कैदमा रहेको कारागार मार्फत पुनरावेदन दर्ता गर्न सकिने
(१) दफा १३४ को उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो दफाको उपदफा (१) बमोजिम पुनरावेदन गर्न चाहने ब्यक्तिले फैसला गर्ने अदालत मार्फत वा त्यस्तो फैसलाबाट कसूरदार ठहरिएको ब्यक्ति कैदमा रहेको भए कैदमा रहेको कारागार मार्फत पनि पुनरावेदन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम पुनरावेदन दर्ता भएकोमा त्यस्तो अदालत वा कारागारले पुनरावेदकले निजलाई भएको सजाय भोगेको वा बुझाएको वा त्यस बापत धरौट वा जमानत दिएको भए त्यस्तो व्यहोरा खोली पुनरावेदन सुन्ने अदालतमा यथासम्भव चाँडो पुनरावेदन पठाई पुनरावेदकलाई त्यस कुराको जानकारी दिनु पर्नेछ ।
(३) फैसला गर्नेे अदालतले उपदफा (२) बमोजिम पुनरावेदन पठाउँदा सम्बन्धित मिसिल समेत साथै राखी पठाउनु पर्नेछ ।